पर्यटकीय शहर पोखरामा कोटीहोम प्रयोजनको लागि भन्दै ३३ ऐतिहासिक पिपलका रुख काटिएको विषय केही समयअघि विवाद र चर्चामा रहेको थियो । यो कोटीहोमका पक्षधरहरुले यसलाई स्वाभाविक र सहज भन्ने व्याख्या विश्लेषण गरे भने अरु धेरैले यसको वातावरणीय सन्दर्भ र महत्व अथ्र्याउँदै रुख कटानको विरोध गरे । यस्तै पूर्व पश्चिम राजमार्गलाई विस्तार गर्ने क्रममा सडक किनारमा भएका बर पिपलका रुखहरु पनि उसैगरी काटिएका थिए । तर त्यसलाई विकासको अपरिहार्यताका नाममा सहजै स्वीकार गरिएको देखिन्थ्यो । विकासको वा धर्मको नाममा जेसुकै भए पनि पर्यावरणीय संरक्षणलाई शास्त्र वा कानुन सबैले प्राथमिकता दिएको तथ्यलाई भने स्वार्थको अनुकुलताका आधारमा हेर्ने गरिएको पाइन्छ । एकातिर धर्म रक्षाका लागि भनेर कोटीहोमको आयोजना गरिएको भनिएको छ भने अर्कातिर तिनै धार्मिक ग्रन्थ, शास्त्र र पुराणमा देवस्वरुप भनी व्याख्या गरिएका पिपल, बर र समीका रुख निर्मम फँडानी गरिएको छ । जनतालाई गर्मीबाट जोगाउन र अक्सिजनको पर्याप्तताका लागि अघिल्लो पुस्ताले रोपिदिएका बर पिपल शमीका रुख मासेर राजमार्ग विस्तार गरिएको छ विकासका नाममा । विश्वलाई संस्कृति र पर्यावरणमा पाठ सिकाउने सामथ्र्य र नैतिकता भएको नेपालमा पछिल्ला समय धर्म र विकासका नाममा पलाएको यो निर्लज्ज हर्कतले पर्यावरण र सँस्कृतिको अन्तरसम्बन्धलाई गम्भिर भएर केलाउँदै बहसमा उतार्ने बेला ढिला भएको महसुस भएको छ ।
एकातिर विश्वका शक्तिराष्ट्रहरुले उत्सर्जन गरेको कार्वनडाइअक्साइड लगायतका घातक प्रदुषण र वातावरणीय असरहरुको शिकार बन्नु परिरहेको छ । विश्वमञ्चबाट विकासोन्मुख राष्ट्रहरुलाई क्षतिपूर्ति सहित साझा मञ्चमा साझा जिम्मेवारीको प्रतिबद्धता बहन नगरी शक्ति राष्ट्रहरु पछि सरिरहेका छन् । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी (युएनएफसीसी) को पक्षराष्ट्रहरुको सम्मेलन कोप २९ ले निर्धारण गरेको विश्व जलवायु वित्त निर्धारणलाई अस्वीकार गर्ने अमेरिकी घोषणाले विश्वमा अर्को तरङ्ग छ । जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको संकट निवारणका लागि रैथाने मौलिक सँस्कृति तथा आधुनिक विश्वको प्रतिबद्धता साझा ढंगले आउनुपर्ने महुस भईरहेको बेलामा नेपालमा सँस्कृतिको रुपमा भएका र हुने गरेका वातावरणीय विनासका प्रयत्नहरुप्रति चिन्तनशील हुनु आवश्यक भएको छ ।
नेपालको भौगोलिक क्षेत्र र सभ्यताको परिचय नै साँस्कृतिक विविधतायुक्त, वातावरणमैत्री, प्राकृतिक र मनोरम हो । नेपालको भूखण्डभित्रको प्रवेशले शारीरिक स्वस्थता, मानिसक शान्ति, स्फुर्ति, समृद्धि मिल्ने विश्वास आदिम सभ्यता अर्थात शैवसभ्यतादेखिकै हो । धार्मिक वा आद्यात्मिक कोणबाट हेर्ने विश्लेषण गर्ने हो भने विद्यमान नेपाल खण्डलाई हिमालय पर्वत र त्यसको परिदृश्यमा रहेको मनोरम शैलश्रृङ्लायुक्त, शितल र कञ्चन जलप्रवाहयुक्त हिमनदी र नदी श्रृङ्खलाहरु, औषधीय गुणवेत्तायुक्त बृक्ष र बुटीले भरिपूर्ण पहाड तथा जङ्गलले परिपूर्ण क्षेत्र हो । सँस्कृति, ग्रन्थ, पुराण वा वेदमा कुण्ड, पोखरी, कुवा र बृक्षलाई देवसमान व्याख्या गरिएको छ । यसको विनास गर्नेलाई घोर नरक वा महापातकको पाप लाग्नेछ भनेर व्याख्या गरिएको छ । अनि यही सँस्कृति भजाउनेहरुले प्राकृतिक सम्पदाको विनास गरेर कोटीहोम गर्ने, महायज्ञको नाममा वन विनास गर्ने, खोलाको स्वरुप परिवर्तन गरी जलचरलाई हानी पु¥याउने काम कसरी सँस्कृति सम्मत हुन्छ ? किमार्थ हुन सक्दैन ।
एकाग्रता, मन शान्ति, शारीरिक स्वास्थ्य आदिको लागि बर, पिपल, समी, कपुर, रुद्राक्ष, लाँकुरी लगायतका बृक्ष सम्पदाको संरक्षणलाई नेपाली सँस्कृतिको अद्भूत गौरवमय पक्षका रुपमा लिइन्छ ।
शैव सभ्यतामा शिवको जटाबाट वगिरहेकी र शिवको आराधना गर्ने जोकोहीले जुनसुकै बेला प्राप्त गर्न सकिने गंगाको रुपमा पूजा गरिएकी गंगा अर्थात जल स्रोतका कारण आजपर्यन्त नेपाल सम्पन्न नै मानिन्छ । कल्पबृक्षको रुपमा होस वा बृक्षराजको रुपमा होस पिपलको संरक्षण, सम्बद्र्धन, विस्तार सबै युगको पवित्र कर्मको रुपमा लिइएको छ । एकाग्रता, मन शान्ति, शारीरिक स्वास्थ्य आदिको लागि बर, पिपल, समी, कपुर, रुद्राक्ष, लाँकुरी लगायतका बृक्ष सम्पदाको संरक्षणलाई नेपाली सँस्कृतिको अद्भूत गौरवमय पक्षका रुपमा लिइन्छ । वनस्पति र जल सम्पदाकै कारण दोभान, त्रिवेणी, घाट, जंगलहरुको महिमा र यसको सामाजिक साँस्कृतिक पक्षलाई नेपालको भूगोल, प्राकृतिक सम्पदा र मानवीय पक्षलाई जोड्ने साँस्कृतिक सेतुका रुपमा लिइएको छ ।
प्राकृतिक सम्पदाको संरक्षण नै मानव सम्भयताको दीर्घायुुको एउटा पूर्वसत हो भन्दा फरक पर्दैन । यो पृथ्वी हरेक सभ्यताहरुमा त्यस कालखण्डका घमण्डी, मुर्ख वा आफूलाई गुण र वलले युक्त ठान्नेहरुले गरेका हर्कतका कारण जोखिममा पर्ने गरेको तथ्यहरु पूर्वसभ्यताहरुको अध्ययनबाट प्राप्त गर्न सकिन्छ । आफ्ना युक्ति वा वलको घमण्डले अस्तित्वविहिन बनिसकेको बेलामा पटक पटक पृथ्वीमा समान अस्तित्व रहेका विभिन्न स्वरुपका जिवको प्रयत्नबाट जोगाइएको तथ्यहरुलाई हामीले कथात्मक रुपमा पुराण, ग्रन्थ र श्रुतीका माध्यमबाट जान्नेबुझ्ने मौका पाएका छौं । मत्स्य (माछा), कुर्म (कछुवा), बराह (बँदेल), नृसिंह (विभिन्न स्वरुप र प्रजातीका सिंह लगायतका बनचर)हरुको अस्तित्वको अध्ययन गर्ने मौका पाएका छौं । यी ज्ञानका हस्तान्तरण गरिएको पृथ्वीको संरक्षण र समान अस्तित्वका लागि हो । धर्मका नाममा भएका विभिन्न शास्त्र, ग्रन्थ, पुस्तक आदिले प्रकृति, ब्रम्हाण्ड, धर्ती र प्रकृतिमा समान अस्तित्व रहेका विभिन्न तत्वहरुको संरक्षण र सन्तुलनका नियमहरु, असन्तुलनका कारण सिर्जना हुने विपतहरु, त्यस्ता विपतका बेलामा हुने सहकार्य र त्यसबाट जोगिँदै गरिने पुननिर्माण, उद्धार तथा राहतका कर्महरु आदिलाई दर्शनशास्त्र, अद्यात्मिक ग्रन्थ तथा श्रुतीहरुमार्फत प्रष्ट्याउने कामहरु हुने गरेको छ ।
मूलतो ब्रम्हरुपाय, मध्यतो विष्णुरुपिणे
अग्रतो शिव रुपाय अश्वत्थाये नमोनमः
यसरी एउटा रुखको मूल अर्थात जरालाई सृष्टिस्वरुप, मध्यभागलाई रक्षक स्वरुप र अग्रभागलाई शैव अर्थात शुन्यता, शान्तपनलाई प्रतिविम्वित गर्ने गरी पिपलको रुखलाई जल चढाउनुपर्ने शास्त्रमत छ । जमिनको नियमित रिचार्ज सिष्टमलाई दिगो टिकाउयोग्य विरुवाको संरक्षण र अक्सिजनको स्रोतको संरक्षणका हेतुले वैज्ञानिक रुपमा पनि कालान्तरसम्म दीर्घजीवी ज्ञानसुत्रको रुपमा रहेको पर्यावरणको साँस्कृतिक सुरक्षाचक्रलाई भङ्ग पार्ने प्रयत्न यतिबेलाको साझा चिन्ता हो । प्रकृति र जिवनलाई बुझ््ने पद्धतिलाई नै सैद्धान्तिक रुपमा दर्शन भनिएको हो । पूर्वीय दर्शन विशेष गरी संस्कृत भाषा, मन्त्र, वेद र वेदसंग सम्बन्धित सँस्कार, सँस्कृति, रितिरिवाज, धर्म, अनुशिल, सम्प्रदाय, मत, श्रुती आदिबाट विकास भएको छ । प्रकृति, ब्रम्हाण्डको अस्तित्व, जीव मानव प्रकृति सम्बन्ध आदिका हिसावले अत्यन्तै समृद्ध संस्कृतिलाई प्रकृतिको विनाससँग जोड्नु लज्जाष्पद छ ।
जमिनको नियमित रिचार्ज सिष्टमलाई दिगो टिकाउयोग्य विरुवाको संरक्षण र अक्सिजनको स्रोतको संरक्षणका हेतुले वैज्ञानिक रुपमा पनि कालान्तरसम्म दीर्घजीवी ज्ञानसुत्रको रुपमा रहेको पर्यावरणको साँस्कृतिक सुरक्षाचक्रलाई भङ्ग पार्ने प्रयत्न यतिबेलाको साझा चिन्ता हो । प्रकृति र जिवनलाई बुझ््ने पद्धतिलाई नै सैद्धान्तिक रुपमा दर्शन भनिएको हो ।
दर्शनमार्फत पृथ्वी र प्रकृतिको संरक्षणका सन्दर्भमा र मानव प्रकृति सहअस्तित्वका सन्दर्भमा पूर्वीय दर्शन अझ विशेष गरी नेपाललाई केन्द्र मानेर विकास भएका ज्ञानका श्रृङ्खलाहरुले निकै सकारात्मक योगदान दिएका छन् । प्रकृतिको संरक्षण र सहअस्तित्वका लागि नेपाल भूखण्डमा विकास भएको दर्शनको योगदानलाई आधार मानेर सिंगै विश्वको ध्यानाकर्षण गराउन सक्दा धर्ती ब्रम्हाण्ड र जीवको अस्तित्व जोगाउन सकिन्छ । त्यसैले के छ त नेपाल भूमिमा विकास भएको दर्शन र अझ बृहत रुपमा भन्ने हो भने पूर्वीय दर्शनमा ? के खास रंगको वस्त्र र केही रंग विरंगका माला भिरेकाहरुले गरेका हर्कतहरु नै संस्कृति हुन् भनेर त्यसप्रति घृणाभाव जगाउने कि अध्ययन र विवेचनामार्फत सँस्कृतिभित्र भएका मौलिक ज्ञानमार्फत प्रकृति र पर्यावरण संरक्षणको विशद बहसका अभियान चलाउने भन्नेतर्फ ध्यान पुग्न आवश्यक छ ।
पूर्वीय दर्शनको एउटा मुख्य खण्ड वेद हो । बेद अस्तित्वको अद्भूत र बृहत पक्ष हो । ज्ञान, ध्यान र साधनाले परिपूर्ण नभै बेदको पूर्णताको अनुभूति गर्न सकिँदैन । ज्ञान, अध्ययन र साधनाका पक्षहरुबाट बुझ्न सकिने धेरै कुराहरु यो जगतको अस्तित्वका विभिन्न पक्षसँग जोडिएका छन् । बेदमा ब्रम्हा र देवताका कुरा मात्रै छैनन् । ज्योतिषशास्त्र, गणित, रसायन, प्रकृति, भूगोल, खगोल, औषधि, इतिहास र जीवनका नियमहरु छन् । यिनीहरु कालजयी छन् । अस्तित्वमा रहेका मूल ४ बेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद हुन् । यी बेदहरु अग्नी, वायु र सूर्यसँग जोडिन्छन् । यसर्थ पनि वेद प्राणी, प्रकृति र पर्यावरणसँग धेरै जोडिइरहेको हुन्छ ।
पूर्वीय दर्शनलाई विस्तार गर्दै लैजाने सवालमा पुराणहरुको योगदान निकै महत्वपूर्ण छ । पुराणहरुले प्रकृतिको संरक्षण वेगर मानवको अस्तित्व असम्भव छ भन्नेकुरा विभिन्न श्लोकहरुमा उल्लेख गरेका छन् । पुराणहरुमा देवता भनेर पुज्ने नै प्रकृतिलाई हो र प्राणी जगतको रक्षा गर्ने अनित्य बृहत शक्ति नै प्रकृति हो भनेर व्याख्या गरिएको छ ।
‘द्यौर्मे पिताजनितानाभिरत्र बन्धुर्मे माता पृथिवीमहीयम् । (ऋग्वेद १ः१६४।३३)।’ अर्थात् आकाश पिता हुन्, बन्धु वातावरण मेरो नाभी हो अनि महान् पृथ्वी मेरा आमा हुन् ।
ऋग्वेदमा उल्लेख भएको यो ऋचाले भनेजस्तै अझ विशुद्ध रुपमा प्राकृतिक सम्पदाहरुलाई नै पुज्ने शील, अनुशील, नियम, उपनियम, ऋचाहरु बेद, पुराण र ग्रन्थका श्लोकहरुमा छन् । पूर्वीय दर्शन विशेष गरी हिन्दू दर्शनले पञ्चतत्वको अस्तित्व र त्यसको रक्षा मानवीय कर्तव्यको रुपमा सिकाएको छ ।
भूगोल र आयुर्वेद तथा वास्तुको विश्लेषण गरेर मानिसले कस्तो भूभागमा बसोबास गर्नुपर्छ ?, कस्तोमा खेतीपाती गर्नुपर्छ ? आवासीय जग्गा घडेरीहरुमा पानीको व्यवस्थापन कता गर्ने ? हावाको बहाव व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरुको जानकारी दिएर विपतबाट जोगिन सिकाएको छ भने वातावरणमैत्री आवास व्यवस्थापनको दिग्दर्शन वास्तुशास्त्रमार्फत दिइएको छ ।
भूगोल र आयुर्वेद तथा वास्तुको विश्लेषण गरेर मानिसले कस्तो भूभागमा बसोबास गर्नुपर्छ ?, कस्तोमा खेतीपाती गर्नुपर्छ ? आवासीय जग्गा घडेरीहरुमा पानीको व्यवस्थापन कता गर्ने ? हावाको बहाव व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरुको जानकारी दिएर विपतबाट जोगिन सिकाएको छ भने वातावरणमैत्री आवास व्यवस्थापनको दिग्दर्शन वास्तुशास्त्रमार्फत दिइएको छ । पृथ्वी जोगाउन सभ्यता विकासको क्रममा जलचर, थलचर, उभयचरको कस्तो योगदान थियो, सहअस्तित्व थियो ? आविश्कारका नाममा हठी मानिसका ज्यादतीविरुद्ध प्राणी र वनस्पति कसरी लड्नुपरेको थियो भन्ने सार संक्षेपलाई नै कथात्मक ढंगले बुझाउने प्रयत्नहरुलाई आज पर्यन्त पुराणका रुपमा लिइएको छ । के पृथ्वी सहअस्तित्वको शिक्षा दिनु अपराध हो ? पृथ्वी प्राणी, वनस्पति र मानिसको साझा घर हो भनेर सिकाइएको संस्कृतिको समृद्ध पक्षलाई गहन ढंगले लिन जरुरी छ ।
ब्रम्हावैवर्त पुराणअन्तर्गत त प्रकृति खण्ड नै व्यवस्था गरिएको छ जहाँ प्रकृतिको महत्व, प्रकृतिविरुद्धका गतिविधिहरु पापकर्म भएको र त्यस पापकर्मका कारण जगतमा विपत्ति सिर्जना हुने कुराहरु उल्लेख छन् । सांसारिक क्रियाकलापमा लिप्त भएका र सुखभोगले आशक्त मान्छेहरुले गर्ने अति ज्यादतीका कारण धर्तीले दुःख पाउने सन्दर्भहरु उल्लेख छन् ।
यसैगरी वनलाई जोगाउन वेदले निर्देशित नै गरेको पाइन्छ, वनानिनःप्रजहितानि (८ः१ः१३) । पृथिवीमातर्मा हिंसी मा अहं त्वाम् (यजुर्वेद १०ः२३), अर्थात् पृथ्वीलाई हानि नपु¥याआंै । पृथ्वीलाई हानी गर्नेले आमालाई दुःख दिएको बराबरको पाप भोग्नुपर्ने उल्लेख छ । यस्तै पद्म पुराणले पोखरी, कुवा, सीमसार क्षेत्रको पानी प्रदूषित गर्ने व्यक्तिलाई नरकबासीको संज्ञा दिएको छ ।
यस्तै वामन पुराण, कुर्म पुराण, वाराह पुराणमा पनि पृथ्वीका उत्पति कालखण्डका कुकृत्य र तिनको नास गरी जगतको रक्षा गरिएका प्रसंगहरु छन् । वायु पुराणमा वायु अर्थात हावाका कथा छन् । सृष्टिकर्म, युग, भूगोल, खगोलका सन्दर्भहरु व्याख्या गरिएको छ । नर्मदा, नदी, दोभान, त्रिवेणी, किनार, तट आदिका वर्णन गरिएको यो पुराणले हावा फोहोर पार्ने, विषाक्त ग्याँस उत्पादन गर्ने, पानीका स्रोतहरु अतिक्रमण गर्ने वा पानीका मुहानमा फोहोर गर्नेलाई नरकवास सजायँ हुने उल्लेख गरेको छ ।
कैलाश पर्वत, हिमालय पर्वत, पर्वत, गौरी, पार्वती, सुमेरु पर्वत आदि पर्वतीय श्रृङ््खलालाई त शास्त्रका ऋचा र श्लोकहरुमा हरबखत पवित्रतापूर्वक सम्बोधन गरिएको छ । नदीहरुलाई देवीको रुपमा पुजिएको छ । स्कन्द पुराणको हिमवत खण्डलाई त प्रकृतिपुराण नै मानिएको पनि छ । गिरिराज हिमालय समृद्धिको नायक र समृद्धिको स्रोत हुन् भन्दै लेखिएको छ : अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः, पूर्वापरौ तोयनिधि वगाह्य स्थितः पृथिव्यां इव मानदण्डः । अर्थात ठूला पर्वतहरुबाट नदीहरु उत्पन्न हुन्छन् । पर्वतहरु पृथ्वीका पालक पोषक र रक्षक हुन् । प्राणी र वनस्पतिको रक्षा अनि पृथ्वीकै रक्षाका लागि नदी पर्वत र हिमाल नजोगाए संसार मरुभूमी हुन्छ ।
देवताको पालो भनेर व्याख्या गरिने हाम्रा लागि कथा ठानिएको त्यो समय प्राणी मानव र वनस्पतिको सहअस्तित्वको समय थियो । र सहअस्तित्व निर्माण गर्न सके त्यस्तो स्वर्गानुभूति अहिले पनि गर्न सकिन्छ । हिमाल, पहाड र नदीसँगै बृक्ष र वनस्पतिको अस्तित्व पूर्वीय दर्शनको अर्को बलियो जग हो । बर पिपल, समीका रुख हुन् वा चाँप, रुद्राक्ष, कपुरआदि जसको सेवनले दिने औषधीय शक्ति तथा उर्जा देखि आसन र आश्रयसम्मका नाताले पूर्वीय दर्शन संस्कृतिमा रुखको स्थान जोडिएको छ । कुस, दुबो, तुलसी आदिको सम्बन्ध र शुद्धताको साइनोले त पूर्वीय दर्शन विशेष गरी हिन्दू दर्शनलाई प्राकृत दर्शनको रुपमा नै लिन सकिन्छ ।
पूर्वीय सँस्कृतिले निर्देशित आचार विचार र व्यवहारहरु प्रकृतिमैत्री छन् । शुद्ध काठ दत्तिवनले दन्त मञ्जनगर्ने देखि मृतिके हरमे पापम् यन्मया दुष्कृतं कृतम् भन्दै हरेक पवित्र काममा आफ्ना सम्भावित गलत कर्मबाट जोगिन पानी र गौमुत्रमा माटो मिलाएर गर्ने शुद्धीकरण कर्मले आज विश्वलाई नै नयाँ ढंगले प्रतिक्रियारहित औषधिमूलोको विकल्पतर्फ आकृष्ट गरेको छ । पाश्चात्य दर्शनका अध्येता आविष्कारक वैज्ञानिकहरु आफ्नै आविष्कारका कारण खतरा महसुस गर्दै आफैँसँग डराएर भाग्दै गर्दा पूर्वीय दर्शन संस्कृतिमा आधारित आयुर्वेद र पुराणका सिकाइमा आधारित शिल, आचारण, व्यवहार र विधिलाई मान्न आकर्षित भईरहेका छन् ।
हाम्रो संविधान र कानुनले व्यवस्था गरेका प्राकृतिक सम्पदाको संरक्षणका जिम्मेवारी र कानुनले तोकेका निकायहरुले पनि जोकसैले संस्कृतिको नाममा होस् वा धर्मका नाममा वा विकासका नाममा, प्रकृतिमाथि गर्ने ज्यादती कुनै पनि मूल्यमा स्वीकार गर्न हुँदैन । त्यसविरुद्ध निर्भिकता साथ खडा हुन आवश्यक छ । प्रकृति र पर्यावरण जोगाउँदा मात्रै मानिसको अस्तित्व रहन्छ ।
यसरी मानिसको अस्तित्वको लागि हावा, पानी, औषधिमूलो, आवास लगायत प्राणी सहअस्तित्वका समग्र पक्षमा महत्वपूर्ण मानिने प्राकृतिक सम्पदाको रक्षाका लागि साझा संकल्प, साझा प्रयत्न आजको आवश्यकता हो । हाम्रो संविधान र कानुनले व्यवस्था गरेका प्राकृतिक सम्पदाको संरक्षणका जिम्मेवारी र कानुनले तोकेका निकायहरुले पनि जोकसैले संस्कृतिको नाममा होस् वा धर्मका नाममा वा विकासका नाममा, प्रकृतिमाथि गर्ने ज्यादती कुनै पनि मूल्यमा स्वीकार गर्न हुँदैन । त्यसविरुद्ध निर्भिकता साथ खडा हुन आवश्यक छ । प्रकृति र पर्यावरण जोगाउँदा मात्रै मानिसको अस्तित्व रहन्छ । मानिसको अस्तित्व नै जोखिममा पारेर गरिएको विकास पनि विकास होइन, धर्म वा संस्कार पनि धर्म वा संस्कार होइन । त्यसर्थ प्रकृति र पर्यावरण प्रधान मानसिकता विकास गर्नु आजको अहं कर्तव्य हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ ०७:४५