बहुविवाह कुनै संस्कार होइन, यो महिला अधिकार प्रतिको घोर अपमान हो। आजको २१औँ शताब्दीमा पनि यदि एउटा पुरुषले अर्को विवाह गर्छ भने, यो केवल व्यक्तिगत गलत निर्णय मात्र होइन, यो सम्पूर्ण महिलामाथि गरिएको अन्याय हो। यसले महिलाको समानता र अधिकारको लागि लडिरहेका संघर्षहरूलाई कमजोर बनाउँछ र महिलाको अधिकारलाई कुण्ठित गर्छ। बहुविवाहले महिलाको स्वायत्तता, मर्यादा र कानुनी समानताको अधिकारलाई गम्भीर रूपमा चुनौती दिन्छ।
यो एक यस्तो प्रथा हो जसले महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्छ, उनीहरूको भावना र सम्मानलाई बेवास्ता गर्छ र उनीहरूको जीवनमा नियन्त्रण राख्ने पुरुषहरूको अधिकारलाई जोड दिन्छ। तसर्थ, बहुविवाहलाई कुनै पनि हालतमा स्वीकार गर्न मिल्दैन र यसको विरुद्धमा कडा कानुनी कदम चालिनु अत्यावश्यक छ । तर दुर्भाग्यवश, हाम्रो देशमा यसको कार्यान्वयन प्रभावकारी रूपमा नहुनु आफैंमा गम्भीर चिन्ताको विषय हो । यसले सम्पूर्ण रूपमा महिलाहरूको अधिकारप्रति गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।
पितृसत्तात्मक संरचना, जसमा पुरुषहरूले प्रमुख शक्ति र सामाजिक अधिकार राख्छन्, नेपालमा बहुविवाहको अभ्यासमार्फत गहिरो रूपमा प्रकट हुन्छ। यद्यपि कानुनी रूपमा बहुविवाहलाई निषेध गरिएको छ, सामाजिक रूपमा यो अभ्यास अझै केही समुदायहरूमा प्रचलित छ, र यसले महिलामाथिको नियन्त्रण र पुरुषको प्रभुत्वलाई मजबुत बनाउँछ ।
सबैभन्दा पहिले, बहुविवाहले महिलाको आत्मसम्मान र एजेन्सीमा प्रत्यक्ष आघात पुर्याउँछ। जब एक पुरुषले कानुनी वा गैरकानुनी रूपमा धेरै पत्नीहरू राख्छ, त्यसले महिलाको अधिकार, भावनात्मक सुरक्षात्मकता, र पारिवारिक संरचनामा उनको स्थान कमजोर बनाउँछ। यस्तो संरचनाले महिलाहरूलाई प्रतिस्पर्धात्मक स्थितिमा राख्दछ, जसले पारिवारिक एकताको सट्टा द्वन्द्व, असुरक्षा र तनाव निम्त्याउँछ ।
बहुविवाहको अभ्यासमा पुरुषको सामाजिक छवि भने प्रायः सशक्त, अधिकारयुक्त र ‘धेरै महिला राख्न सक्ने योग्य’ भनेर व्याख्या गरिन्छ, जबकि महिलाको सन्दर्भमा एउटै व्यवहारलाई निन्दनीय मानिन्छ। यसरी, यो अभ्यासले दोहोरो नैतिक मान्यतालाई सुदृढ पार्दछ, जुन पितृसत्ताको मूल आधारहरूमध्ये एक हो। शिक्षा र आर्थिक निर्भरता बहुविवाहलाई टेवा दिने प्रमुख कारक हुन्। धेरै महिलाहरू, विशेष गरी ग्रामीण क्षेत्रका, आर्थिक रूपमा पूर्ण रूपमा पतिमा निर्भर रहने हुँदा बहुविवाहको सामना गर्दा पनि प्रतिरोध गर्न सक्दैनन्। पुरुषले अर्को विवाह गर्दा महिलाहरूको सामाजिक, आर्थिक र भावनात्मक अवस्थालाई गम्भीर असर पुर्याउँछ, तर पितृसत्तात्मक समाजले महिलाको पीडा र असहमतिको मूल्याँकन गर्न सक्दैन ।
अझ गम्भीर कुरा, बहुविवाह प्रायः महिलाको यौनिकता, प्रजनन क्षमता, र मातृत्वलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ। यदि पहिलो पत्नीबाट छोराको जन्म हुँदैन वा महिला ुअप्ठ्यारोु वा ुबाँझोु ठहरिन्छिन् भने दोस्रो विवाहलाई सामाजिक रूपमा स्वीकृत मानिन्छ। यसले महिलाको अस्तित्वलाई केवल प्रजनन क्षमतासँग बाँधेर हेर्ने मानसिकता उजागर गर्दछ, जुन पितृसत्ताको चरम रूप हो। राजनीति, कानुन र समाजका नेतृत्व तहमा पुरुषहरूको प्रभावकारी नियन्त्रणका कारण, बहुविवाह विरुद्धको कानुनी व्यवस्था कार्यान्वयनमा कमजोर देखिन्छ। पीडित महिलाहरूलाई न्याय प्राप्त गर्न कठिनाइ हुने, प्रमाण जुटाउने झन्झट, र प्रहरी तथा न्याय निकायमा लैङ्गिक संवेदनशीलताको अभावले बहुविवाहका विरुद्धको संघर्ष झनै जटिल बनाउँछ ।
अन्ततः, बहुविवाह केवल वैवाहिक संरचनाको प्रश्न होइन, यो पितृसत्ताको एक प्रमुख औजार हो, जसले महिलालाई अधीनमा राख्ने, उनीहरूको आत्मनिर्णयलाई सीमित गर्ने, र पुरुषलाई नियन्त्रण, निर्णय र सामाजिक शक्ति प्रदान गर्ने भूमिका खेल्दछ। यस्तो अभ्यासलाई हटाउन कानुनी उपायसँगै सामाजिक चेतना र संरचनात्मक रूपान्तरण अपरिहार्य छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ २३:१३