कुष्ठरोग प्रभावित विरामीको केन्द्रिय उपचार केन्द्रको रुपमा २०१३ सालमा स्थापना भएको अस्पताल हो आनन्दवन अस्पताल । यो अस्पतालमा कुष्ठरोगीको लागि ८० बेड संचालनमा छ। स्थापना काल देखि नै अस्पताल आसपास र ललितपुरको दक्षिणी भेकलाई जनरल सेवा दिदै आएको यो अस्पतालमा जनरल बिरामीको लागि ३० बेड रहेको छ भने २०७९ मा उद्घाटन गरिएको ट्रमा सेण्टरको क्षमता ३० बेड रहेको छ। यसरी १ सय ४० बेड क्षमतामा संचालनमा रहेको यो अस्पतालमा मेडिकल, प्राबिधिक र प्रशासनिक गरि १५० भन्दा माथी कर्मचारी कार्यरत रहेका छन् । अर्थोपेडिक र छालाको उपचारमा विशेषज्ञ सेवा दिईरहेको यो अस्पतालको आफ्नै ब्यवस्थित प्रयोगशाला, अनुसन्धान केन्द्र, सुबिधा सम्पन्न कर्मचारी आवास, शहरमा “पाटन क्लिनिक” को नाममा सेवा देशैभरको रेफरल कुष्ठरोग क्लिनिक र ट्रमा सेन्टर आदिलाई हेर्दा यो एक ब्यवस्थित, दक्ष र स्वास्थ्य सेवामा अब्बल अस्पताल प्रतीत हुन्छ।
अस्पतालको आर्थिक ब्यवस्थापन पक्ष
यो अस्पतालले कुष्ठरोगी बाहेक दैनिक तीन सय हाराहारी जनरल विरामीलाई सेवा दिँदै आएको छ। अस्पतालको खर्च ब्यवस्थापनमा ओ पि डि सेवाले दिएको योगदान अस्पतालको बार्षिक ब्ययभारमा ३० प्रतिशत हाराहारी रहेको बताउँछन् अस्पतालका प्रबक्ता, शेर बहादुर गुरुङ्ग। बाँकिको सबै खर्च बाह्य श्रोत, अनुदानमा निर्भर छ। कुष्ठरोगिको उपचार र ब्यवस्थापनमा आएको अनुदानबाटै अस्पतालको खर्च ब्यवस्थापन हुँदै आएको छ।
आनन्दबन अस्पताल ब्रिटिश नागरिकको दान र ब्रिटिस सरकारको मुख्य अगुवाईमा स्थापित संस्था हो । बिगतदेखि हालसम्म ब्रिटेन र युरोपियन देशहरु यसका प्रमुख दाता हुन् । युरोपमा कुष्ठरोग उन्मुलन भएको दशकौं बितिसक्यो। आम रुपमा युरोपियनहरु कुष्ठरोग नचिन्ने भै सके। आफुले चिन्दै नचिनेको रोगको उपचारको लागि अब कति दिन उनिहरुले दान दिई रहलान ? भन्ने पनि सोचनीय सवाल छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०३५ सम्ममा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ। नेपालले भने बिक्रम सम्बत २०६४।०६५ मै कुष्ठरोग उन्मुलन घोषणा गर्ने तयारी गरेको हो। मात्रात्मक रुपमा कुष्ठरोग बिमारिको संख्या उल्लेख्य रहेको र सरकारको उक्त घोषणाका कारण नेपालले कुष्ठरोग उपचारको लागि पाउँदै आएको वैदेशिक सहायता गुमाउने आदि कारण दर्शाएर सो समयमा उन्मुलनको आधिकारिक घोषणा रोकिएको हो। अहिले पनि बार्षिक रुपमा २ हजार पाँच सयको हाराहारीमा नयाँ कुष्ठरोग बिमारी भेटिने गरेको तथ्यांक आनन्दवन अस्पतालसँग रहेको छ । कुष्ठरोग नै उन्मुलन भएको अवस्थामा, कुष्ठरोगिको लागि भनेर अनुदान माग्ने र अस्पताल चलाउने बिषय अप्रासंगिक हुने देखिन्छ। त्यसकारण अस्पतालले दिगो आर्थिक आधार तयार पार्नुपर्ने टड्कारो आवश्यकता छ ।
अस्पतालले निरन्तरता पाउने आधार
ट्रमा सेण्टर सहितको १४० बेड क्षमताको पुर्बाधार आनन्दवनसँग रहेको छ । आफ्नै भोगाधिकारमा रहेको सयौं रोपनी जग्गा पनि अस्पतालसँग छ । स्तरउन्नती हुँदै गरेको कान्तिलोकपथ र सातदोबाटो लेले सडकसँग जोडिएको पहुँचयोग्य स्थानमा अस्पताल रहेको छ । जिल्लाभित्र रहेका दक्षिणी भेगका तीन गाउँपालिकालाई सहजै हुने ठाउँमा गोदावरी नगरपालिकामा रहेको अपस्थितिले पालिकासँगका स्वास्थ्य इकाइ एवम् पालिकास्तरीय अस्पतालसंगको रेफरल सम्बन्धको नेटवर्क पनि रहन सक्ने सम्भावना छ । यी अवस्थिति नै यो अस्पतालले निरन्तरता पाउने आधार हुन् । वैदेशिक अनुदानमा निर्भर यो अस्पताललाई कुष्ठरोग उन्मुलनपछिको अवस्थामा आफ्नै क्षमतामा उभिने संस्था बनाउन यी आधार पर्याप्त छन।
कस्तो अवस्थामा स्थापित भएको थियो, आनन्दबन अस्पताल
कुष्ठ रोगलाई महारोग भनिन्थ्यो । कुष्ठरोगको उपचार थिएन वा भए पनि नेपाल, भारत लगाएतका अति बिपन्न देशमा सम्भव थिएन। अङ्ग कुहिँदै र झर्दै जाने यो रोगलाई पुर्ब जन्मको पापसङ्ग जोडेर हेर्दा अझ सामाजिक समस्या रोग भन्दा बिकराल थियो। सामाजिक बहिष्करणको डरले रोगिहरु सके सम्म रोग लुकाउँथे । महारोगी (कुष्ठरोगी)लाई मानव आवागमन नहुने घना जङ्गल र ओडारमा लगेर मर्नको लागि छाडिदिनु आम व्यवहार थियो । कतिपयलाई बाढी आउने बेला खोला किनारमा लगेर राखिदिने जबकि थाहै नपाइ खोलाले बगाओस् । त्यस्तो अन्धविश्वास र असामाजिक अवस्था झेलिरहेको बेला कुष्ठरोग महारोग होइन उपचार गर्दा निको हुन्छ। औषधि नियमित सेवन गरेकोबाट रोग सर्दैन भनेर आम नेपालिलाई बुझाउने पहिलो संस्था नै “द लेप्रोसी मिशन नेपाल” थियो। यही लेप्रोसी मिसनले देशका विभिन्न ठाउँमा अपहेलित ढंगले फ्याँकिएका व्यक्तिहरुलाई उद्धार गरी अस्पतालमा ल्याएर उपचार गराएर समाजमा पुनस्र्थापना योग्य बनाइ मानव कल्याणमा समर्पित स्वास्थ्य सँस्था अहिलले आनन्दवन अस्पतालको रुपमा छ ।
त्यतिबेला कुष्ठरोग जस्तो बिकराल रोगको लागि जमिन उपलब्ध गराउनु पनि धेरै गाह्रो बिषय थियो। जे होस् ,यो संस्था यहाँ रहनु र त्यतिबेलाको समाजले कुष्ठरोगको अस्पताललाई आफ्नो भुमी उपलब्ध गराउनु भनेको ठूलो उदारता थियो। त्यति बेलाको समाजको यहि उदारताका कारण उतिबेला देखि नै लेले ( चापागाउँ क्षेत्रका सयौं स्थानीयले जागिर मात्र पाएनन् , स्थापना काल देखि हाल सम्म ओ पि डि सेवा मार्फत अनबरत स्वास्थ्य सुबिधा पाई आए। स्थानीयको अलावा सिङ्गो दक्षिण ललितपुर , पूर्वोत्तर मकवानपुर ,दक्षिण पुर्बी काभ्रे जिल्ला र सिन्धुलिको पश्चिमी क्षेत्रले समेत सहज र सुलभ उपचार पायो।
आनन्दबन अस्पतालको समस्या
आनन्दवन अस्पतालको सबैभन्दा ठूलो समस्या आधिकारिकता अर्थात संघीयता पछिको संविधान र कानुनअनुसारको दर्ता हो । आनन्दबन अस्पताल, अस्पताल त हो तर अस्पताल हो भन्ने आधिकारिकता नभएको अस्पताल जस्तो भएको छ । बैदेशिक अनुदानबाट चल्दै आएको। नेपाल भरीकै कुष्ठरोगिको समस्यासङ्ग एक्लै जुधिरहेको। र, नेपाल सरकारको ब्ययभार नपरेको उल्टै स्वास्थ्य मन्त्रालयलाई प्राविधिक सहयोग गरिरहेको यो सँस्थालाई स्वास्थ्य मन्त्रालय र त्यसका नियामक निकायले स्थापना देखि हाल सम्म खासै यसका काम कार्बाहिमा न सहयोग गर्यो न त हस्तक्षेप नै। कुष्ठरोगिको साथमा ओ पि डि सेवा दिइरहेको र आफ्नो स्थानीय क्षेत्रका सयौंले रोजगार पाई रहेको अवस्थामा स्थानीयय स्तरबाट पनि खासै धेरै चासो र सरोकार राखिएको पाइएन।
केही समय अघिसम्मको सुविधासम्पन्न विशेषज्ञता सुविधासहितको अस्पताल जहाँ अनुदानकै आधारमा भौतिक पुर्बाधार, मेसिनरि इक्युप्मेन्ट आदिले सु सज्जित छ तर पछिल्लो समयमा अस्पतालले दिँदै आएको सेवा सुबिधामा ह्रास आएको, सिकिस्त बिमारी एम्बुलेन्समा ल्याउँदा एम्बुलेन्सबाटै अन्य अस्पताल सिफारिस गर्नुपर्ने बाध्यताहरु आउने अवस्था पनि देखिएको छ । पहिरोले अस्पतालको एउटा भवन नै बगाउँदा एक जनाको मृत्यु पनि भयो । एउटा खण्डका भवनहरुमा समस्या देखिएको छ । अस्पतालको दातृ संस्थाले भौगर्भिक अध्ययन पनि गराईरहेको छ । प्राकृतिक विपत्ति बाहेक व्यवस्थापकीय हिसावले पनि केही त्रुटीहरु छन् कि ? भनेर स्थानीय नागरिकहरुले चासो राख्ने अवस्था बनेको छ ।
गोदावरी नगरपालिका ६ नम्बर वडा अध्यक्ष बिष्णुमान महर्जनले, “ अहिलेको अवस्थामा नचले वा चलाउन नसके समुदायले हस्तान्तरण लिने र समुदायले नै ब्यवस्थापन गरेर अगाडि बढ्ने” घोषणा गर्र्नुले पनि आनन्दवनको भित्री बाहिरी कुराहरुको गाम्भिर्यता प्रष्ट्याउँछ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सिकौं
“ दि लेप्रोसी मिसन अस्पताल” जस्तै “शान्त भवन अस्पताल” पनि मिसनरी अस्पताल नै थियो। मिसनरिको आफ्नो सिमा र परिधी, देश भरिबाट शान्त भवनमा बढ्दै गएको बिरामिको चाप र बिश्वास, श्रोत र साधनको सिमितता र ब्यवस्थापनको बाध्यता बिचको द्वन्दले कालान्तरमा शान्त भवन अस्पताल पाटन अस्पतालमा बदलियो। मिशनरी ब्यवस्थापनले समुदायमा अस्पताल हस्तान्तरण गर्दै बिदा लियो। आशङ्का र केही अप्ठेरो बिचबाट रुपान्तरित शान्त भवनको प्रारम्भिक यात्रा पाटन अस्पतालको रुपमा शुरु भयो। आस्ते आस्ते अगाडि बढेको त्यो पाटन अस्पताल आज विश्वबिद्यालय सो सरह मान्यता पाएको ” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान” बन्यो।
रुपान्तरित “दि लेप्रोसी मिशन अस्पताल” पनि भयो, आनन्दबन अस्पतालमा । यो पनि सामुदायिक संस्था नै हो, पाटन जस्तै। एउटै मात्र फरक रह्यो पाटन अस्पताल र आनन्दबन अस्पतालको हस्तान्तरण प्रक्रियामा। त्यहाँ लिने र दिने बिचमा फरक नेतृत्व थियो। यहाँ एउटै नेतृत्वले दायाँ हातबाट बायाँ हातमा नेतृत्व हस्तान्तरण गर्यो, फरक यत्ती हो। पाटन पनि सामुदायिक संस्था र आनन्दबन अस्पताल पनि। जे हुनु भै सक्यो इतिहासलाई हेरेर समीक्षा गर्न सकिन्छ, सच्याउन सकिन्न। कुष्ठरोग उपचारको साथमा दैनिक तीन सय ओपिडिका बिमारिको स्वास्थ्य उपचार गर्दै १ सय ५० भन्दा बढी दक्ष र अदक्ष कर्मचारी ब्यवस्थापन गर्न सफल अस्पताल नेतृत्व क्षमतावान नै हो। जति नै क्षमतावान भए पनि डोको मै दूध दुहेर चाहिँ अट्दैन। पारदर्शिता यस्तो चिज हो, हुन्छ भने १००% हुन्छ, नहुदा ठ्याम्मै जिरोमा झर्छ। आनन्दवन अस्पतालले आफूलाई पर्याप्त पारदर्शि बनाउन आवश्यक छ। अस्पताल नेतृत्वको क्षमता ढुङ्गाबाट शिलाजित निकाल्ने खालको छ।
यतिबेला जतिखेर स्थानीय तहले समुदायको दवावमा आफ्नो जिम्मेवारीबोध गर्ने पहल लिएको छ। आफुले बोकेको गह्रौं भारी हल्का गर्ने र दायित्व बाँड्ने अवसर पनि अस्पताल प्रशासनलाई हुन सक्छ । अहिले पनि कुल खर्चको ३० प्रतिशत ओ पि डि सेवाले धान्दै आएको अस्पतालले कानुनी र प्रशासनिक झन्झट बेगर ट्रमा सन्चालन गर्न पाउने हो भने अस्पताल आफ्नै स्वआर्जनमा अगाडि बढ्न सक्ने सहज स्थितिमा देखिन्छ। नर्सिङ र पारामेडिकल शिक्षण हुँदै सुस्तरी पाइला अगाडि बढाउँदै जाँदा एक दिन यो अस्पताल प्रतिष्ठित शिक्षण अस्पतालमा रुपान्तरित हुने क्षमता राख्नेमा दुईमत छैन । अझ कुष्ठ तथा छालारोगसम्बन्धि अध्ययन अनुसन्धानका कामलाई निरन्तर बढाउँदै जाँदा यसको विशिष्टता पनि जोगिन्छ ।
समस्याको समाधान
अस्पताल आज जे जस्तो अवस्थामा छ, त्यसको निरिक्षण अबलोकन गरि सरोकारवाला निकायले तत्काल अस्पताललाई आधिकारिकता दिन ढिलाइ गर्नु हुन्न।यो प्रक्रियामा अस्पताल प्रशासन फाइल बोकेर जनप्रतिनिधि र कर्मचारीका कार्यकक्षबाहिर कुर्दै ढुक्दै यता र उता दौडने होइन, सम्बन्धित वडा नेतृत्वले अगुवाइ गर्नुपर्छ । २०८१ असोजको बाढीले क्षति भएको भौतिक निर्माण नेपाल सरकारबाट जति सक्दो चाँडो मर्मत सम्भार गराइ सुरक्षित वातावरण बनाइनु पर्दछ। यसको लागि नगरपालिका ,प्रदेश र संघका क्षेत्रीय प्रतिनिधिबाट समयसिमा सहितको सामुहिक प्रतिबध्दता आउनुपर्छ।ओ पि डि सेवाबाट अस्पताल नधानीने परिस्थिती छ। त्यसैले नर्सिङ्ग, पारामेडिकक लगायतको शिक्षण कार्यक्रम थपि दिगो ब्यवस्थापनमा ध्यान दिइनु पर्छ।अस्पताल प्रशासनले आफुलाई खुला र पारदर्शी बनाउदै समुदायसङ्ग सहयोगको लागि अपिल गर्नुपर्छ। समुदायको साथ र सहयोग र संलग्नतामा सम्पुर्ण गतिबिधिलाई अगाडि बढाउनुमा नै समस्याको समाधान छ।
महत नागरिक प्रथम अभियानका संचालक हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ ०७:००