बाल्यकालका ती मीठा दिनहरू, असारको सुरुवातसँगै आउने रमझम, र खेतबारीमा गुञ्जिने असारे गीतहरू अझै पनि मानसपटलमा ताजै छन्। काठमाडौं वरपरको खेतबारी, मनोहरा खोला किनारका हरियाली बगरहरू, र असार लागेसँगै सुरु हुने धान रोपाइँको चहलपहल – ती सबै सम्झनाहरू आज पनि झल्झली आइपुग्छन्।
सानो छँदा हामी पुराना बिग्रिएका क्यासेट टेपहरू खोज्थ्यौं, फुटाएर त्यसलाई लठ्ठीमा बाँध्थ्यौं र धानको बीउ राखिएको ब्याडमा गाड्थ्यौं। हावा चल्दा टल्कने त्यो टेपले चराचुरुंगीहरू भगाउँथ्यो। त्यो सस्तो र सजिलो उपाय हाम्रो बालसुलभ बुद्धिको उदाहरण थियो। पुराना जिन्सका कपडाहरू, र फाटेका लुगाहरूले बनेको बुख्याचाले खेतको सजावट मात्र होइन, चराहरूबाट बीउ जोगाउने काम गर्थ्यो।
धानको बीउ ब्याडमा राख्ने काम, झारिले पानी हाल्ने र हिलोमा खेल्दै बीउ बोक्ने अनुभव – ती सबै आज पनि मेरा लागि अत्यन्तै प्रिय छन्। रोपाइँको समय त हाम्रा लागि चाडसरहै हुन्थ्यो। माना रोपेर पाथी भर्ने त्यो मेहनत बर्षभरिको 'पेटपूजा'को आधार हुन्थ्यो। रोपाइँ सुरु हुनुअघि खेतमा मल हाल्ने, गोरुले जोत्नेजस्ता कामहरू पहिल्यै सकिएका हुन्थे।
मनोहरा खोलाले कहिलेकाहीं बाढी ल्याएर खेत बगाउँथ्यो। अर्को वर्ष त्यही खोलाले धार फेरेर नयाँ ठाउँमा खेतीयोग्य जमिन ल्याउँथ्यो। त्यस्ता बगरलाई “गुसेरिबगर” भनिन्थ्यो। अहिले ती बगरमा पार्टी प्यालेस र रेस्टुरेन्ट बनेका छन्। हिजोका हरियाली बगर, आजका पार्किङ स्पेस र सटर भएका छन्।
त्यो बेलाका खेतहरू – चाहे मनोहरा पारिका हुन्, वा गोठाटार, इमाडोल, बालकोटजस्ता स्थानहरूका – हिलेमाछा, गगटो र हरिया धानका बोटहरूले भरिएका हुन्थे। खेतहरूको आ–आफ्नै नाम हुन्थ्यो – टईन खेत, खरीटार खेत, डोल खेत, फगटो खेत आदि। सानामा हामीलाई त्यति बुझेको हुन्थेन, तर ती नामले खेतको पहिचान हुन्थ्यो।
म त बीउको कार्गो बोक्ने मान्छे हुन्थेँ – आजको पठाओ वा राइडरजस्तै१ एक खेतमा बीउ सकिन लाग्दा म अर्को खेतबाट बोकेर ल्याउँथें। कोदाली चलाउन भने दिँदैनथे – 'खुट्टामा घाउ लाग्छ' भनेर। खेतमा प्रयोग हुने चादे, दादे जस्ता औजारहरू देख्दा रमाइलो लाग्थ्यो।
त्यो माटोको गन्ध, हिलोको छपछप, र बीउ पानीमा मुछेर रोप्नेहरूको हातसम्म पुर्याउँदाको त्यो आनन्द – कहिल्यै भुल्न सकिँदैन। रोपाराहरू घुँघुटी कसेर लाइनमा बसेर असारे गीत गाउँदै धान रोप्थे। रोपाइँ सुरु गर्नुअघि बीउको थुप्रोलाई खेतको बीचमा राखी पूजा गर्ने, सबैलाई टिका लगाउने परम्परा पनि चलनमा थियो।
बाउसे ९गोरु हाँक्ने० हरूको लागि याक चुरोट अनिवार्यजस्तै हुन्थ्यो, रोपाराहरूलाई मिठाई, मसला बाँडिन्थ्यो। खाजामा चिउरा, चना र आलुको तरकारी खेतमै बसेर खाँदा त्यो स्वाद सधैँको लागि स्मृतिमा बस्ने खालको हुन्थ्यो।
असार लाग्नासाथ काठमाडौं वरपरको रोपाइँले गाउँघरको माहोल ल्याउँथ्यो। अहिले पनि रोपाइँ हुन्छ तर पहिलेझैं चहलपहल छैन। खेतहरू प्लानिङ्गको नाममा घरघरसँग भरिँदै गएका छन्। पहिलेको खेत आजकल मासिक भाडा आउने जग्गा बनेका छन्, चामल भने पसलबाट किनिन्छ। पहिले आफ्नै खेतको अन्न खाइन्थ्यो – त्यो चामल स्वादिलो, त्यो चिउरा अडिलो।
मुलुकको कृषि प्रणालीमा भएको परिवर्तन, सहरीकरणको अनियन्त्रित विस्तारले खेतीयोग्य जमिनहरू दिनप्रतिदिन घटाइरहेको छ। गोठाटार, मनोहरा, इमाडोल, सिरुटार, साँखुजस्ता क्षेत्रहरूमा अब हरियालीभन्दा पनि घर र पसल बढी देखिन्छन्।
असार १५ को दिन भने अहिले पनि विशेष रहन्छ। स्कुलका बच्चाहरू खेतमा रोपाइँ हेर्न जान्छन् – 'धान दिवस' भनेर। हेर्नु मात्र हो, रोप्ने होइन – तर यस्ता क्रियाकलापले बालबालिकालाई कृषिप्रति जानकारी दिन सघाउँछ।
आज खेतभन्दा सम्झना धेरै छन्। खेतमा हिलो खेल्दै रोपाइँ गर्ने त्यो बाल्यकालीन आनन्द, असारे गीतहरू, खेतको हिलो र माटोको गन्ध – यी सबै आजको आधुनिक जीवनशैलीमा पनि गहिरो रूपमा बसेका छन्।
असार आउँछ, ती पुराना दिनहरू फेरि सम्झनामा आउँछन्। हिलो, चिउरा, गीत र खेतको त्यो मनमोहक परिवेश — यी सबै मेरा बालापनका अमूल्य निधि हुन्।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ २१:५८