ललितपुर । नेपाल कुष्ठरोग निवारणउन्मुख रहेको र सन् २०३० सम्ममा कुष्ठरोग शुन्य बनाइने आज ललितपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । द लेप्रोसी मिसन नेपालले आयोजना गरेको राष्ट्रिय प्रसार कार्यशालाको उद्घाटनमा नेपाल विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेअनुसार कुष्ठरोग उन्मुलनका लागि प्रतिबद्ध रहेको सरोकारवालाहरुले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले लेप्रोसी निवारणका लागि द लेप्रोसी मिसन लगायतका संघसंस्थाहरुको सहकार्यमा भएको अभियान सराहनीय भएको बताएका छन् । द लेप्रेसी मिसन इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक बेन्ट मर्गनले कुष्ठरोग नियन्त्रण एवम् उन्मुलन लागि नेपालले गरेका कार्यहरुमा विश्वले सिक्नुपर्ने बताएका छन् । नेपालमा ३ वटा अध्ययन अनुसन्धान केन्द्र र १६ वटा अस्पतालमार्फत जटिल खालका कुष्ठरोगको उपचार भईरहेको पनि बताए ।
द लेप्रेसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कंडेलले कुष्ठरोग निवारणमा ७० वर्षको काम विश्वमै अनुकरणीय भएको र नेपालको अध्ययन अनुसन्धान तथा उपचारले विश्वस्तरीय सहकार्यमा स्थान पाएको बताए । नेपालमा स्वास्थ्य मन्त्रालय सरकारी कार्यालयहरुलाई प्राविधिक सहयोग गरिरहेको द लेप्रोसी मिसनले १५ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै १७ जिल्लामा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गरेको बताएका छन् ।
वार्षिक २ हजार ५ सय नयाँ कुष्ठरोगी पत्ता लागेको बताउँदै यसको अन्त्यका लागि सबै पक्षको सहकार्य जरुरी भएको कँडेलले बताए । आनन्दवन अस्पतालले लेप्रोसी र सुगरका कारण नसामा घाउ भएर हाडजोर्नी तथा कडा खालको स्वास्थ्य समस्या भएकाहरुको उपचारका विषयमा पनि अनुसन्धान गरेको मिसनका अनुसन्धान निर्देशक डा. इन्द्र नापितले बताए ।
आनन्दवन अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा.कालेप बुढाले अस्पतालबाट ८ हजार विरामीलाई सेवा दिईरहेको बताए । रुपन्देही र रौतहटबाट धेरै कुष्ठरोगी पहिचान भईरहेको पनि डा.बुढाले जानकारी दिए । नेपालमा सबैभन्दा पहिले सन् १९५७ बाट सुरु भएको कुष्ठरोग नियन्त्रण अभियानले कुष्ठ प्रभावितलाई सामाजिक पुनस्र्थापनाको वातावरण बनाउन योगदान गरेको कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा नेपाल अपांग महासंघ नेपालका पूर्वअध्यक्ष मित्रलाल शर्मा, आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेत, द लेप्रेसी मिसन नेपालका अध्यक्ष अशोक अधिकारीले कुष्ठ प्रभावितहरुको दर्दनाक पीडाहरुलाई सम्झँदा कहालीलाग्दो अवस्था भएको र अहिले समाजमा पुनस्र्थापनाको वातावरण बनाउन कुष्ठ प्रभावितका क्षेत्रमा काम गरिरहेका संस्थाहरुको योगदान रहेको बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ २१:४३