काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले ५ जना मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । चौतर्फि दवावका कारण मन्त्री छान्न सकसमा परेकी कार्कीले जेनजी युवाहरुबिच सहमति हुन नसकेपछि युवाहरुबिच सहमति भएको नाम पछि थप्ने भन्दै पाँच जनाको नामा विज्ञताका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार साँझ सिफारिस गरेकी हुन् । नाम सिफारिसको सूचना पाएपछि जेनजी अगुवा सुदन गुरुंगले प्रधानमन्त्री कार्कीलाई तत्काल मन्त्रीलाई सपथ ग्रहण नगराउन चेतावनी दिएपछि आइतबार सपथको लागि समय नलिइएको बताइएको छ । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल, स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता मिश्रा, विकासविद् मदन परियारलाई मन्त्रीको नाम सिफारिस गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको विश्वास प्राप्त कार्यदलसँगको समन्वयमा मन्त्री छनोट गरेकी हुन् । कार्कीनिकट ‘विज्ञ टोली’ले सामाजिक सञ्जालका सुझावदेखि जेनजी आन्दोलनको भावना र योगदानसमेतको मूल्यांकन गर्दै छनोटमा समन्वय गरेको हो । मन्त्रिपरिषद्को अर्को चरणको विस्तारमा जेनजी भावनाको प्रतिनिधित्व हुनेगरी छनोट गर्न विज्ञ टोली सक्रिय रहेको बताइएको छ ।
कार्यदलले जेनजीको भावनाअनुसार विभिन्न विषयका विज्ञलाई कार्की क्याबिनेटको मन्त्री छनोटदेखि क्याबिनेटले गर्ने निर्णय प्रक्रियामा समेत सहजीकरण गरिरहेको बुझिएको छ । कार्यदल अहिलेसम्म अनौपचारिक नै रहेको र केही दिनमै औपचारिक हुनेसमेत प्रधानमन्त्री कार्कीनिकट स्रोतले जनाएको छ ।
कार्कीले छनौट गरेका मन्त्रीहरुमा स्वास्थ्यमन्त्री प्रस्ताव गरिएकी मिश्रा तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतको पालामा भएको स्वास्थ्य सामग्री खरिद घोटाला प्रकरण लगायतमा विवादित व्यक्ति हुन् भने अनिलकुमार सिन्हालाई संविधानमा नै न्यायधिसलाई मन्त्री बन्नबाट रोकिएका कारण असंवैधानिक हुने भन्दै विकल्प सोच्ने विषयमा छलफल भएको छ ।
यस्तै डा.महावीर पुन, मदन परियार र पत्रकार जगदिश खरेलको नाम पक्का भएको बुझिएको छ । जेनजी आन्दोलनलाई समर्थन गरेका विभिन्न समूह तथा चर्चित ‘इन्फ्लुएन्सर’हरूले सम्भावित मन्त्रीका रूपमा विभिन्न व्यक्तिको चर्चा चलाएका छन् । ‘कतिपय व्यक्तिहरू हाम्रो कार्यदलमा छलफल भएकै व्यक्ति पनि हुन्, कतिपयले आफ्नो निकट व्यक्तिको तस्बिर राख्दै यसै सामाजिक सञ्जालमा माइलेज म्यापिङ गरेका हुन्,’ कार्कीनिकट स्रोतले भन्यो ।
मन्त्रिपरिषद्मा थपिने सम्भावितमा क्याप्टेन विजय लामा, मोहना अन्सारी, बब्लु गुप्ता, गणपतिलाल श्रेष्ठलगायतको नाम चर्चामा छ ।
जेनजी आन्दोलनकारीको असली प्रतिनिधित्व हुनुपर्ने भन्दै सुदन गुरुङ, बब्लु गुप्ता, मिराज ढुंगाना, अभिषेक यादवमध्येबाट मन्त्री बनाइनुपर्ने भन्दै सामाजिक सञ्जाल तथा डिस्कसन प्लेटफर्महरूमा चर्चा चलेको छ । जेनजी युवाहरूलाई युवा तथा खेलकुद मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएर देशभित्र कृषि तथा श्रम रोजगारको सम्भावनामा जेनजीको भिजन लागू गर्ने अवसर निर्माण हुने युवाहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ ०६:४२