चीनको चियुवान शहरमा रोचक र कलात्मक शैलीमा २०२५ पहिलो राष्ट्रिय ‘महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदरको बिचमा भिडियो सम्वाद मार्फत दुई देशको प्राकृतिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धका विषयमा भिडियोमार्फत परिचर्चा गरिएको हो । ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेको महोत्सवले चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिको उत्खनन गर्ने, चियुवानको सांस्कृतिक–पर्यटन ब्रान्ड उन्नति गर्ने, र “हनान घुमौं, चीन बुझौं” अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको छ।
कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुतिहरू देखाइएका थिए । करिब ३०० जना देशभरका “सुन्दर बाँदर राजा” प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति दर्शकका लागि मुख्य आकर्षण रह्यो । प्रसिद्ध कलाकार र चीन–नेपाल सांस्कृतिक दूत लियु स्याओलिङथोङ पनि उपस्थित थिए । उद्घाटन समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो संवाद गरिएको थियो। यी दुई स्थल भौगोलिक रूपमा हजारौँ माइल टाढा भए तापनि “वानर”को आध्यात्मिक प्रतीकले दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्धको प्रतिनिधित्व गरेको छ।
भिडियोमार्फत नेपालका पूर्व राजदूत र स्थानीय प्रतिनिधिहरूले सन्देशमार्फत नेपाल चीन सम्बन्ध र बाँदरको सन्दर्भबारे धारणा दिएका थिए । चीनका लागि पूर्व नेपाली राजदूत लिलामणी पौडेलले नेपाल र चीनबीच सभ्यताको आरम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताउँदै बुद्ध, कन्फ्युसियस र महामञ्जुश्री जस्ता ऐतिहासिक व्यक्तित्वहरूले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । पौडेलले २०१८ मा बेइजिङस्थित नेपाली दूतावासमा लियु स्याओलिङथोङले नेपाली पर्यटन प्रवद्र्धनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै ‘साँस्कृतिक र सुन्दर चियुआन’ कार्यक्रमको शुभकामना व्यक्त गरे ।

“मञ्जुश्री बोधिसत्वको वुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरूले चीन–नेपाल सम्बन्धको गहिराई देखाउने चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीले बताए । टेलिभिजन, रेडियो लगायत माध्यमबाट सुन वुकोंगको चरित्र नेपालको युवा पुस्तामा लोकप्रिय भएको बताउँदै पूर्व राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा बाँदर विद्रोह, न्याय र शक्तिको प्रतीक मानिन्छ भने नेपालमा बाँदर बौद्ध धर्ममा संरक्षक र हिन्दू धर्ममा हनुमानसँग जोडिने बताए । यस्तो सांस्कृतिक सम्बन्धले जनस्तरमै मित्रता अझ गहिरो बनाउने श्रेष्ठले बताए ।
धुलिखेल नगरपालीका प्रथम उपमेयर सुवास काजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वत दुबै २५०० वर्षको बौद्ध ज्ञानको प्रतीक भएको बताए । बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलन जनाउने श्रेष्ठले बताए । लियु स्याओलिङथोङले आफ्नो कलात्मक शक्तिबाट दुई देशका जनताको हृदय नजिक्याएका उनले बताए ।
कार्यक्रममा “पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र”को उद्घाटन पनि गरिएको थियो । त्यसपछि लियु स्याओलिङथोङले सुन वुकोंगको पोशाकमा करिब ३०० जना “बाँदर राजाहरू”सँगै थाउटु पहाडमा विश्व कीर्तिमान कायम गरे । महान् पण्डित संस्कृति तथा कला सप्ताह सेप्टेम्बर २७ सम्म चल्नेछ । यस अवधिमा लोककथा, कला प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवद्र्धन र विद्यालयस्तरका कार्यक्रमहरू सञ्चालन हुनेछन् । यसले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रको रूपमा पुनः स्थापित गरेको छ र “सुन्दर बाँदर राजा”लाई विश्वसभ्यताबीचको पुलको रूपमा पुष्टि गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ ०६:२९