देशको राष्ट्रिय विकासका समस्याहरु समाधान गर्न १६ विषयमा एजेण्डा प्रस्ताव गरिएको छ । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृत्ति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनको प्रगति स्थिति समस्या र समाधानको विषयमा छलफल गर्न सुरु भएको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा एजेण्डा प्रस्तुत गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी रहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले १६ वटा विषयहरु बैठकमा प्रस्तुत गर्नुभएको छ ।
जसमा विकासको प्रारुप मोडल परिवर्तन, मध्यमकालीन खर्च संरचना, अतिकम विकसित देशबाट स्तरोन्नति,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, पूर्वाधार निर्माण,शिक्षा, सीप विकास, क्षमता विकास,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण,स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सम्बन्धी औषधी तथा उपकरण खरिद, पर्यटन, कूटनीतिक नियोगको घरजग्गा खरिद, बहस पैरवी तथा कानुनी प्रतिरक्षा गर्ने व्यवस्था, जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन लगायतका विषयहरु प्रस्तुत गरिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नती सम्बन्धी अद्यावधिक स्थिति, राष्ट्रिय गौरवका आयोजना र पहिलो प्राथमिकताका आयोजनाको प्रगति स्थिति, प्रदेशहरुको समष्टिगत आर्थिक अवस्था राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयन बारे प्रस्तुतीकरण गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १७:०३