ललितपुरका स्थानीय तहहरुले खातावन्दी गरी वार्षिक प्रगति अवस्था सार्वजनिक गरेका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहले वार्षिक प्रगति अवस्था जानकारी गराएका हुन् । ललित सन्देशसँगको कुराकानीमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सूचना अधिकृत तथा लेखा अधिकृतहरुले वार्षिक खातावन्दी र प्रगति अवस्था जानकारी गराउनुभएको हो ।
चालु खर्चमा सबैभन्दा बढी बजेट खर्च गर्ने वागमती गाउँपालिका रहेको छ । वागमतीले चालुतर्फ ९५ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम ललितपुर महानगरपालिकाले ८० प्रतिशत खर्च गरेको छ । पुँजीगत तर्फ सबैभन्दा बढी महाँकाल गाउँपालिकाले ७८.९४ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम ललितपुर महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ ।
ललितपुर महानगरपालिकाले औषत ७३ प्रतिशत प्रगति गरेको छ । चालुतर्फ ८५ प्रतिशत र पुँजीगत तर्फ ६०.६२ प्रतिशत वित्तीय प्रगति गरेको हो । फ्रिज भएको रकम फिर्ता गर्ने तथा प्रक्रिया पुगेका सम्पूर्ण भुक्तानीहरु समयमै सम्पन्न गर्न सकेको आथिृक प्रशासन महाशाखा प्रमुख विदुर कुमार धिमालले बताउनुभयो ।
महानगरपालिकाले समयमा काम सम्पन्न गर्न उपभोक्ता समिति तथा सरोकारवालाहरुलाई पटक पटक सूचना जारी गर्दै योजना कार्यान्वयनमा सक्रियता दिएकाले औषत प्रगति सन्तोषजनक रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले बताउनुभयो ।
यस्तै गोदावरी नगरपालिकाले औषतमा ७८ प्रतिशत प्रगति हासिल गरेको छ । नगरपालिकाले चालुतर्फ ८४ प्रतिशत र पुँजीगत तर्फ ७२ प्रतिशत प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो । बहुवर्षीय योजना बाहेक सम्पूर्ण योजनाको भुक्तानी समयै गरी फ्रिज रहेको रकम समेत समयमै फिर्ता गरिसकिएको नगरपालिकाका लेखा अधिकृत राजनप्रसाद गुरागाईले बताउनुभयो ।
यस्तै गाउँपालिकातर्फ सबैभन्दा पहिले कोन्ज्योसोम गाउँपालिकाले अन्तिम दिन मंगलबार साँझ कार्यालय समयभित्रै खातावन्दी सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद दुलालले बताउनुभयो । औषतमा ८०।१३ प्रतिशत प्रगति गरेको गाउँपालिकाले पुँजीगत तर्फ ६७ प्रतिशत र चालुतर्फ ८९ प्रतिशत प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताउनुभयो ।
यस्तै महाँकाल गाउँपालिकाले औषत ७० दशमलव ५ प्रतिशत वित्तीय प्रगति गरेको छ । चालुतर्फ ८० प्रतिशत र पुँजीगत तर्फ ६१ प्रतिशत प्रगति हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।
वागमती गाउँपालिकाले औषत ८५।५ प्रतिशत प्रगति हासिल गरेको छ । गाउँपालिकाको चालुतर्फ ९५ प्रतिशत र पुँजीगततर्फ ७६ प्रतिशत प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १६:५३