काठमाडौं उपत्यकाको शहरी भीडभाड, धुवाँधुलो र होहल्लाबाट एकैछिन मन शान्त पार्न र चिसो हावामा श्वास फेर्न मन लागेको छ भने नजिकको गन्तव्य हो दलचोकी । उपत्यकाको दक्षिणपट्टि गोदावरी नगरपालिकासँगै जोडिएको छ कोञ्जोसोम गाउँपालिका वडा नं ३ दलचोकी । चापागाउँबाट मोटरसाइकलमा आधा घण्टाको यात्रामा पुग्ने यो ठाउँबाट काठमाडौं उपत्यका र उत्तरी हिमाली भेगका हिमश्रङ्खला एकैसाथ हेर्न पाइन्छ । सिंहदरवारबाट निस्केको ४५ मिनेट देखि १ घण्टामा दलचोकी पुगेर दिनभर रमणीय दृश्यावलोकन गर्न सकिने दलचोकीका केही दृश्य यहाँ साझा गरेका छौं ।

दलचोकीबाट दक्षिणकाली नागार्जुनतर्फ देखिएको दृश्य तस्विर : मुकेश बजगाई
दलचोकी हाइकिङको लागि एकदमै राम्रो गन्तव्य हो । रत्नपार्कबाट लेले सम्म जाने साझा बस र लगनखेल–लेले बससेवा यहाँका सार्वजनिक बससेवा हुन् । सार्वजनिक वसमा जानेहरुले गोदावरी ६ टिकाभैरवको आनन्दवल अस्पताल नजिकै टिकाभैरवमा झर्नुपर्छ । टिकाभैरवबाट नख्खुखोलाको किनारै किनार पनि पदयात्रा गर्न सकिन्छ भने कान्तिलोकपथ तर्फबाट सडक मार्गबाट पनि पदयात्रा गर्न सकिन्छ । मोटरबाटो खुुल्नुअघि शंखु, दलचोकी, बुखेल, इकुडोलतिरबाट ओहोरदोहोर गर्ने वासुकीको पदमार्ग अहिले ढुंगाखानीका कारण संकटमा परेको हुँदा खोलाबाट हिँडडुल कठिन छ । टिकाभैरवबाट मोटरबाटो छेवैछेउ हिँडेर कान्तिलोकपथको विर्खेधारा पुगिन्छ ।

दलचोकीबाट देखिएको काठमाडौं उपत्यका । तस्विर : मुकेश बजगाई
बिर्खेधाराबाट देबे्रतर्फ अलिक उकालो मोटरबाटो नछोडी गएपछि नेपाली सेनाको देवी दल गुल्म पुगिन्छ । सेनाको क्षेत्र पार गरेपछि सुरु हुन्छ भ्यू प्वाइन्ट । यहाँका हरेक मोडहरु भ्यू प्वाइन्टको रुपमा अनुभव गर्न पाइन्छ । थामडाँडा पुग्दा त स्वर्गानुभूति नै हुन्छ, एकै ठाउँबाट उत्तरी हिमश्रृङ्खलाका हिमाल र काठमाडौं उपत्यका एकै ठाउँबाट मनभरी हेर्न पाइन्छ । तेर्सो बाटो हिमाल र उपत्यका हेर्दै जाँदा त्यहाँको चिसो चिसो मौसमले झन् लोभ्याउँछ ।
दलचोकी भञ्ज्याङमा नै त भ्यू प्वाइन्ट र मनकामना मन्दिर समेत रहेको छ । मनकामना मन्दिरमा वैशाख १ गते विशेष मेला पनि लाग्छ । शनिवार र विदाको दिन यस क्षेत्रमा पिननिकका लागि जानेहरु पनि प्रशस्तै हुन्छन् । दलचोकीको यो रुटबाहेक वासुकीको रुट र पाथीभरातर्फबाट पनि जान वा फर्कन सकिन्छ ।
दलचोकीबाट देखिएको काठमाडौं उपत्यका । तस्विर : मुकेश बजगाई
दलचोकीबाट देखिएको काठमाडौं उपत्यका । तस्विर : मुकेश बजगाई
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १२:२९