काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने वा ढल्दै गरेको भन्ने भ्रमहरुको खण्डन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार २०८४ को मंसिरसम्म चल्ने बताउनुभएको छ । मंगलबार बानेश्वरमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दिनदिनै सरकार ढल्ने हल्ला गरेकाहरुलाई जवाफ दिइएको बताउनुभएको हो ।
वैठकमा ओलीको सम्बोधनमा सांसदहरु हाँस्दै गर्दा थप्नुभयो,–‘दिनैपिच्छे सरकार ढल्छ, अलि पछि सरकार ढल्छ। बेलुकासम्म सरकार ढल्छ। राती नै ढल्छ। अथवा भोलि बिहान नै ढल्छ। भएन भने दिउँसोसम्म ढल्छ। नभए भोलिसम्मलाई ढल्छ। भोलि नभए पर्र्सिसम्मलाई सारदिए। यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए। यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए। साउनमा ढलेन, भदौलाई म्याद सारे। भदौमा पनि ढलेन, दसैँमा सारे। दसैँमा ढलेन मंसिरलाई सारे।’
ओलीले भन्नुभयो, ‘कुन मंसिर ? २०८४ मंसिरसम्म ढल्न सक्छ। तर, मान्छेले के अस्तिको मंसिर बुझे। २०८४को मंसिरको चुनाव। त्यतिबेला सरकार बदलिन्छ।’
यही माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरुलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गर्नुभयो ।
उहाँले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १५:११