ललितपुर । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर निवारणको उद्देश्यले देशव्यापी अभियानको रुपमा सञ्चालन गरिने एचपीभी खोपबाट कोञ्जोसोम गाउँपालिकामा चार सय भन्दा बढी किशोरीहरु लाभान्वित हुने भएका छन् । गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म एचपिभी खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिका स्तरीय खोप समन्वय समितिको शनिवार सम्पन्न अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जयराम सञ्जेलले विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्राहरु तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका लक्षित किशोरीहरुलाई उक्त खोप प्रदान गरिने जानकारी दिनुभयो । खोप कार्यक्रम सञ्चालनका लागि सञ्जेलकै संयोजकत्वमा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुखहरु सदस्य रहेको एइएफआई व्यवस्थापन समिति समेत गठन भएको छ । गाउँपालिकाभित्रका ११ विद्यालयहरुमा खोप कार्यक्रम लागु गरिनेछ भने विद्यालयमा छुटेका किशोरीहरुलाई सबै वडाका स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराईनेछ।
विश्वमै भयावह प्रकोपको रुपमा फैलिरहेको पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि नेपाल सरकारको संघीय सशर्त अनुदानबाट स्थानीय तहमा प्रदान गरिने कार्यक्रमबाट उक्त खोप कार्यक्रम देशैभरका स्थानीय तहहरुमा माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको अवस्थाबारे जानकारी गराउँदै विश्व स्वास्थ्य संगठनकी डब्लुएचआईपिडी सहजकर्ता दिपाली थापाले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र अहिलेकै अनुपातमा यो सङ्ख्या बढ्दै गए सन् २०३० सम्ममा यो सङ्ख्या ७ लाख पुग्ने बताउनुभयो । ह्युमन प्यापिलोमा भाईरसबाट सर्ने पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ । विशेषगरी न्यून तथा मध्यम आय भएका वर्गमा यो रोगको प्रकोप बढी रहेको सर्वेक्षण छ । प्रत्येक वर्ष ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको र यही अनुपातमा बढे २०३० सम्म यो सङ्ख्या ४ लाख पुग्ने अनुमान रहेको छ ।
नेपालमा भने प्रतिवर्ष २ हजार १ सय ६९ महिलामा यो क्यान्सर लाग्ने गरेको र जसमध्ये १ हजार ३ सय १३ जनाको क्यान्सरको कारण मृत्यु भएको थापाले बताउनुभयो । थापाका अनुसार नेपालमा हुने सबै क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो मुख्य क्यान्सरको समस्याको रुपमा रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामाले मानव स्वास्थ्य र महिला स्वास्थ्य गाउँपालिकाको अत्यन्त प्राथमिकताको विषयको रुपमा रहेको बताउनुभयो । पाठेघरको मुखको क्यान्सर जस्ता भयावह रोगको रोकथाम र निवारणका लागि पर्याप्त छलफलको विषय बनाइनु आवश्यक रहेको भन्दै सबै तहका सरकार र सरोकारवालाको सहकार्यबाट यस्ता स्वास्थ्य समस्याविरुद्ध लड्न सकिने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ ०६:२७